Social Icons

Monday, July 2, 2012

लघुकथा: सन्दर्भ-असन्दर्भ


“संसार एक रंगमञ्च हो, यहाँ विभिन्न भुमिकाका रंगकर्मीहरुद्वारा बेतोड अभिनय हुन्छ ।“सम्पूर्ण सिकाइको सारांसबाट अजहर भाइजानले स्वागत मन्तव्य शुरु गरे ।

वक्ता लहरमै आसिन ब्यक्तित्व रमेश गिरीले नै तालीको शुरुवात गरे, दर्शकमाझबाट त्यसलाई निरन्तरता दिइयो । करिव एक मिनेट सम्म करतल ध्वनी गुन्जायमान भो ।

“निर्देशन गर्ने अदृश्य शक्ति हो, सवैले रबकै लेखामा चल्नुपर्छ, आफ्नो आफ्नो नशिव सबैले बेहोर्नु पर्छ । जसले नियमपूर्वक सदाचार गर्‍यो, सम्झनुस, त्यो गयो सिधै जन्नत ।“

दर्शकदिर्घाबाट वयोबृध्द ताराजीले भने – “ठीकै हो ।“

उदघोषक संजयवाबुले “समयसीमा पाँच मिनेट मात्र” भन्दै वलाँच क्षेत्रकै पाका र निष्कलंक ब्यक्तित्व अजहर भाइजानलाई ड्यास हस्तान्तरण गरेका थिए तर भाइजानले जीवनको अनुभव प्रश्तुत गर्दागर्दै दश मिनेट नै लिइसकेको हेक्कै पाएनन् । आखिर संजयवाबुले केहि लेखेर एउटा चिट दिए भाइजानलाई, त्यसपछि तत्कालै भाइजान बोले – “धन्यवाद ।“

यसपछिको कार्यक्रम थियो सांगीतिक – लोक, चक्र, ओलत, धर्म र साथिहरु बोलाइए स्टेजमा । उनिहरुले मीठो गीत प्रश्तुत गरे –

            “इसाराले बोलाउनीले
            दिल चोरी लैहाली
            एकोहोरो टोलाउनीले...।“

बस के थियो – दर्शकदिर्घाबाट उठेर नाच्न थालिहाले श्याम, जगन्नाथ र अरु केहि ठिटाहरु । वुङवुङती धुलो उडेर दर्शकलाई स्वासै फेर्न गाह्रो भइ भटाभट बसेको ठाउँबाट उठ्न थालेपछि लोकको हातबाट माइक्रोफोन लिइ संजयवाबुले सवैलाई आ-आफ्नो ठाउँमा बसिदिन आग्रह गरे तर स्थिती नियन्त्रणमा नआएपछि स्वयंसेक साथीहरु रुपलाल, बिजय, अनुप लगायतको ठूलै प्रयास पछि वातावरण सहज भयो ।

रमेश गिरी – यस गाउँका मुखिया, अलिक ठट्यौला पाराका मानिस – रमाइलो प्रशंग उठान गर्दै मन्तव्य शुरु गरे –

“सिमारबाट जीप चढेको यहि कार्यक्रममा आउनलाई, सिट सहयात्री भेटिइन् एक युवती, यति मोटी कि, अचटिएर स्वासै फेर्न गाह्रो भो मलाई, के गर्नु, मिल्ने भए त काखैमा वसिदिन्थें, म केटाकेटी नै हुँ भन्दै... फेरि त्यो साला खलासी – कति खुकुलो पाइन्ट लागाको, न त धागोले बाँधेको देखियो कतै, कसरि त्याँ अड्याउँदो रैछ कुन्नि, पछाडीको पूरै भाग देख्ख्याथ्यो ।“

दर्शकदिर्घामा हाँसो गुन्जायमान भो ।

त्यसपछि उनले थाले कुरो समसामयिक राजनीतिको, त्यसपछि आफ्नो घरमा व्याएको भैंसीको र त्यसलाई पाल्न भएको सकसको ।

प्रमुख वक्ता सुरेश चन्द बडो गम्भिरताका साथ प्रश्तुत भए सधैं झैं – “यो देशको आमूल परिवर्तनको लागि सवभन्दा पहिले गाउँको विकाश हुनु जरुरी छ । गाउँको विकाश भए मात्र यो देशमा विकाशको लहर आउने छ ।“

दर्शकहरुले हत्केला नै रातो हुने गरि ताली बजाए ।

कार्यक्रमका सभापति प्रताप शाही मञ्च आउनु पूर्व नै दर्शकहरु हिंड्न सुरु गरि सकेका थिए । उनले हतार हतार भने – “आजको कार्यक्रम भव्यताका साथ सफल भएको छ, यसमा सहयोग गर्ने सवैलाई धन्यवाद । म आजको यो कार्यक्रम यहिं विसर्जन भएको घोषणा गर्दछु ।“

यतिखेर सम्म सवै बाहिरिइ सकेका थिए, ताली बजाउने कोहि थिएन ।
£

विश्व वातावरण दिवशको सन्दर्भमा वातावरण संरक्षण मञ्च, वलाँचद्वारा आयोजित “ वातावरण स्वच्छ, सुदृढ स्वास्थ्य” विषयक कार्यक्रमको मुख्य विषय भने कार्यक्रम अवधिभर मौन रह्यो ।
£££

No comments:

Post a Comment