इन्टरनेट क्षेत्रले यति ठूलो फड्को मारिसक्दा पनि, मैले यस तर्फको सुक्ष्म
ज्ञानको भरमा भरसक आवधिक हुन यसकै मद्दत लिदै आएको छु । दुर्गम ठाउँ, दार्चुला –
जहाँ रेडियो पत्रिकाको पहुँच पनि छैन, धन्य मोवाइल नेटवर्क र इन्टरनेट सम्म उपलव्ध
छन् – को जागिरेको हैसियतले म नियमित देशदुनियाँको खवरको निम्ति यसैमा निर्भर रहदै
आएको छु ।
केहि समय पहिले, कसैले कम्प्युटर सिक्दैछ वा कसैसंग कम्प्युटर छ भन्ने सुन्दा समेत जिब्रो टोक्ने मान्छे मैले सन् २००२ तिर आफैले कम्प्युटरको आधारभुत तालिम लिएर एउटा इमेल एकाउन्ट खोलेको थिएँ, जसको प्रयोग मैले अन्जानहरुसंग च्याट गर्न मात्र गर्दथें, पछि केहि मित्रहरूले समेत इमेल चलाउने जानकारी पाएपछि, केहि आत्मीय वार्तालाप पनि त्यत्तिकै हुन थालेका थिए । त्यो समय नै त्यस्तै थियो नभए उमेरका कारण म त्यस्तै थिएँ, यो राम्रो हुन्छ वा त्यो भन्ने द्विबिधा बीचमा मैले २/४ वटा इमेल एकाउन्ट खोल्दै बन्द गर्दै गरिसकेको थिएँ ।
पछि सन् २००९ मा फेसबुकमा र २०१० मा ट्वीटरमा आवद्ध भएपनि, मैले नियमित रुपमा तिनको प्रयोग २०१०/११ को बीचबाट मात्र गर्न थालें । यी सामाजिक संजालहरूमा मित्रहरुलाई समेट्न ढिलाइ गरेका कारण पनि त्यसो भएको हो, तर महत्वपूर्ण रुपमा चाहिं यिनलाई चलाउने कसरि भन्ने आधारभुत ज्ञानकै थोरवहुत कमी नै जिम्मेवार थियो । कुरा स्पष्ट छ, म इन्टरनेट क्षेत्रको अलिक काँचो बिद्यार्थी हुँ ।
साहित्यमा रुची राख्ने र साहित्यको बिद्यार्थी, म यदाकदा साहित्यका विविध विधामा कलम चलाउँछु । भन्नुको तात्पर्य, म स्थान खोजिरहेको एउटा नवसर्जक हुँ । त्यसो त, मैले सर्वप्रथम २०५३ सालमा, गोरखापत्र संस्थानबाट प्रकाशित हुने बालपत्रिका ‘मुना’मा एउटा बाल-कविता छपाएको थिएँ, त्यसपछि २०६१ यता सोहि प्रकाशनको साहित्यिक पत्रिका ‘मधुपर्क’मा समेत रचना प्रकाशनको अवसर पाएकोछु, तर आफ्नै परिश्रममा निकालेको हवाइ लघुपत्रिका “हाम्रो परिवेश” जुन २०६०/६१ ताका नेपालगञ्जबाट प्रकाशित हुन्थ्यो वाहेक, म कुनैपनि पत्रिकामा नियमित स्तम्भकार भने भइन ।
इन्टरनेट दुनियाँमा छापिएका लेखरचनाले मलाई लोभ्याउँदथे, र म पनि आफ्ना रचना त्यसैगरि अपलोड गर्ने चाहना राख्दथें, तर मैले सन् २०१० को अन्त्य सम्म नेपाली भाषा इन्टरनेटमा कसरि लेख्ने भन्ने सम्म पनि बुझ्न सकिन । पछि मोवाइलमा इन्टरनेट चलाउन थालेपछि, मलाई केहि राहत भएको थियो, कारण मोवाइलमा नेपालीमा लेखेको कुरा इन्टरनेटमा नेपाली मै पोष्ट गर्न सम्भव हुन्थ्यो । तर निकै पट्यार लाग्दो सो प्रविधिबाट अलग भइ सरल तरिकाको अवलम्वन गर्ने चाहा मनमै थियो । धेरै पछि सन् २०१० को अन्त्यतिर बाट मैले युनिकोड प्रयोग गर्न थालें ।
होइन, मैले नियमित लेख्ने ब्लग खोइ त ? आफैलाई चिमोटिरहने यो प्रश्नले मलाई घरिघरि रित्तो महसुस गराउँथ्यो । आफुमा आधारभुत प्राविधिक ज्ञान नहुनु, अझ भनौं यो सुसाङ्ख्यसंगको सामिप्यता प्रगाढ नहुनुले ठूलै रिक्तता महसुस गराउँथ्यो, मभित्र कतै अन्तरसम्म । र मैले यसमा यथेष्ट समय पनि दिएको थिइन, जान्ने बुझ्ने कोशिस गरेर, न मैले कसैसंग यसवारे थोरै जिज्ञाशा नै राखेको थिएँ ।
ठ्याक्कै समय त सम्झन सक्दिन, सायद सन् २०१० तिर स्नातकोत्तर तहको अध्ययनको क्रममा मैले यो ब्लग निर्माण थालेको थिएँ, तर यसलाई आकर्षक रुप दिन नसक्दा त्यसै छोडिदिएको थिएँ । करिव दुइ वर्षपछि, हालै, मैले सोहि ब्लगलाई केहि सुहाउँदो रुप दिएकोछु जसले गर्दा आज मन त्यसै चन्चल भएकोछ, पुन: बाल्यजीवन पाए जास्तो । कोशिस गर्नेछु – मभित्रका उकुसमुकुसहरूलाई यसैमा समावेश गर्नेछु, निरन्तर ।
- सजल महेश आचार्य
No comments:
Post a Comment